समाज

मरे चिहान, बाँचे घर

घर बास हो । घर बसोबास हो । झुपडी पनि घरै हो । महल पनि घर । डेरामै बसे पनि घर, घरै हो । लालपुर्जाविहीन घरले पनि घर हुनुको अर्थ बोक्छ । नवउदारवादी बजारको बिगबिगी बढेको अहिलेको समयमा घरलाई 'हाउजिङ' पनि भन्‍ने गरिन्छ, जसको मालिक बजार र व्यक्ति दुवै । घर जस्तोसुकै होस्, घर साह्रै प्यारो । सितिमिति घर छाडेर हिँड्न मनले मान्दैन । कहिले रहरले त कहिले करले घर छाड्न पर्ने हुन्छ । तर, न मनमौजी रहर, न त सामान्य कर । बरु भयङ्कर डर, जब बन्छ घर अनि भाग्न विवश बनाउँछ तब, कस्तो हुँदो हो त्यस बखतको पीडाबोध ?

सोमाली मूलका ब्रिटिस कवि वर्सन शायरको 'होम' शीर्षक कविताका शब्दहरूले यसरी बोक्न खोजेका रहेछन्, त्यो पीडा । आफू जन्मेको, हुर्केको घर डरसरी रातारात छाडी निर्वासित जीवन जिउन कर परेका अफगानी, सिरियन, सोमाली, प्यालिस्टिनियन लगायत लाखौँ करोडौँ आम मानिसलाई समर्पित कविताको दुई हरफको नेपाली अनुवाद यस्तो बन्यो-

कोही तब छोड्छ घर

जब घर बन्छ मृत्युको मुख

सीमातिर कोही तब दौडिन्छ

जब ऊ सम्पूर्ण सहर त्यतैतिर दौडिरहेको देख्छ

 

कोही तब छोड्छ घर

जब घर बन्छ एक थकित आवाज

अनि भन्छ:

'जाऊ

मदेखि भागेर जाऊ

मलाई थाहा छैन, म के भएर गएँ

मात्र यति थाहा छ

तिमी यहाँभन्दा अन्तै कतै सुरक्षित छौ'

थरुहट थारुवान राष्ट्रिय मोर्चाको पहलमा गत भदौ १ देखि ३ गतेसम्म काठमाडौँ केन्द्रित तीन दिने आन्दोलन सम्पन्‍न भयो । बृहत् नागरिक आन्दोलनसँगको ऐक्यबद्धतामा संगठित आन्दोलनका मागहरूमध्ये एक माननीय रेशम चौधरीलगायतका आन्दोलनकारीहरूको रिहाइ हो । २०७२ भदौ ७ गते 'थरुहट प्रदेश' पक्ष र 'अखण्ड सुदूरपश्चिम' पक्षबीचको निरन्तर राजनीतिक झडपले जन्माएको 'टिकापुर घटना' मा ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । नितान्त राजनैतिक घटनालाई एक पक्षीय अपराध करार गरेर सर्वोच्च अदालतले रेशम चौधरीलगायत दस जनालाई हत्याको आरोपमा जन्मकैद, एक नाबालकलाई १० वर्षको कैद अनि बाँकी ११ जनालाई तीन वर्ष जेल चलानीको फैसला सुनाएको थियो ।

टिकापुर घटनाको चिरफार नामक किताबमा आफ्नो विस्तृत बकपत्र जारी गरी आफूलाई निर्दोष बताउने रेशम चौधरी घटना घटेकै दिन झण्डै दुई वर्षका लागि सीमापारि निर्वासित भए, साथमा थियो- शरीर ढाक्ने मात्र एक सरो लुगा । न कर, न रहर, बरु डरले छाडे उनले घर । त्यो कहालीलाग्दो दिन उनको घरले, उनको सहरले, थकित आवाजमा रेशम चौधरीलाई भनेको हुँदो हो- 'जाऊ, मदेखि भागेर जाऊ । मलाई थाहा छैन, म के भएर गएँ । मात्र यति थाहा छ, तिमी यहाँभन्दा अन्त कतै सुरक्षित छौ ।' भनिन्छ, त्यो दिन थारु आन्दोलनकारीहरू हजारौंको संख्यामा आफ्नो घर, आफ्नो सहर छाडी रातारात सीमातिर दौडिएका थिए ।

माइतीघर मण्डलामा मोर्चाको कार्यक्रमको तेस्रो दिनको अन्त्यतिर आउँदा बोल्ने पालो आयो, वैज्ञानिक समाजवाद धारका राजनीतिज्ञ, लेखक तथा चिन्तक आहुतिको । उनी गर्जिए- 'संरचनाभित्र न्याय खोजेर पाइन्‍न ! न्याय खोज्ने भनेको संरचनाबाहिर हो !' संरचना अर्थात् संविधान अनि संविधान उपजका कानुनहरू । संरचनाबाहिर जानु भनेको क्रान्ति गर्नु हो । मण्डलाको कार्यक्रम प्रतिरोध र प्रतिबद्धता प्रदर्शन गर्ने एउटा भद्र थलो थियो । त्यही भद्र थलोभित्र ठिङ्ग उभिएर आहुतिले क्रान्तिकारी भाषण गरिरहँदा उनको ठ्याक्कै दुई फिटअघि भुईँमा थचक्क बसेर आकाशतिर मुन्टो फर्काई आहुतिलाई हेर्दै भाषण सुनिरहेका थिए- हुकुमबहादुर लामा । यो लेखको शीर्षक उनै हुकुमबहादुरको देन ।

'मरे चिहान, बाँचे घर । एकता नै हाम्रो भर ।'

हुकुमबहादुरले रचेको यही नारावरिपरि नेपालको भूमिहीन सुकुम्बासी आन्दोलन घरि बल्ने घरि निभ्ने गरेको करिब पाँच दशक जति भो । आन्दोलनको प्रमुख घटकमध्ये एक हुन्, हुकुमबहादुर । नाराले एउटा माग बोकेको छ । माग हो- 'हे राज्य, संविधानको मर्मले सुझाएजस्तो अनि बन्‍ने भत्किने भूमि आयोगहरूका प्रतिवेदनहरूले बुझाएजस्तो भूस्वामित्वसहितको सुरक्षित बासको जोडजाम गरिदेऊ ।' पाँच दशक पुरानो आन्दोलनको पिँढीगत पुस्तान्तरणपछि पनि भूमिहीन सुकुम्बासीहरूको आजको माग त्यही छ । राज्य र सहर जतिसुकै अन्यायी किन नहोस् । रहर, कर या डरले नै किन नहोस्, सुकुम्बासी जीवन दैनिकीले सिकाएको पाठ भनेको, माग र मुद्दा नछोड्ने हो । भूमिहीन सुकुम्बासीले देख्ने उन्मुक्ति भनेको 'घर' मा हो । यस्तो घर, जसलाई भावनात्मक मात्र होइन, कानुनी हिसाबले पनि आफ्नो भन्‍न सकियोस् । आफ्नो मान्‍न सकियोस् । सूत्र संरचनाभित्रै छ । उल्झनको सुल्झन संरचनाभित्रबाट खोजिएको छ।

'आहुतिको भाषण कस्तो लाग्यो ?' भनेर हुकुमबहादुर लामालाई सोध्‍ने अवसर मिलेको छैन। तर, ठिङ्ग उभिएका आहुति र ठिक अगाडि थचक्क बसेका हुकुमबहादुरलाई हेर्दा देखिने दृश्यले एउटा राजनैतिक विम्बचाहिँ रच्ने रहेछ । मानौं, एउटाको मुखबाट निस्किएको भाषणले अर्कोद्वारा सिर्जित नारालाई ललकार्दै भनिरहेछ, 'खोइ कुरा बुझेको !' यो लेख लेख्नुको मात्र एउटा औचित्य, त्यही कुरा बुझ्नु हो । त्यसैले, यो लेखलाई कुनै व्यक्ति विशेषमाथिको टिप्पणीभन्दा पनि दुई भिन्‍न सैद्धान्तिक धारहरूबीच संवादको रूपमा बुझ्दा लेखले न्याय पाउला । अर्को अर्थमा भन्‍नु पर्दा, आहुति र हुकुमबहादुर त प्रतिनिधि पात्रहरू मात्र हुन् ।

'प्रोलिटेरिएट' को अर्को मार्क्सवादी पाटो पनि छ, जहाँ 'श्रमको सामर्थ्य' को एक किसिमको बुझाइ छ । प्रोलिटेरिएट मात्र यस्तो जमात हो, जसले पुँजीवादलाई जरैदेखि उखेल्ने सामर्थ्य राख्दछ, बुझाइले भन्छ । के काठमाडौंका सुकुम्बासीहरूमा निहित सामूहिक श्रम शक्तिले हामीले खोजेजस्तो न्यायिक सहर जन्माउने सामर्थ्य र सूत्र बोकेको छ ? कुरा यहीँ आएर जटिल बन्छ ।

रिफोर्म भर्सेस रिभोल्युसन

'रिफोर्म भर्सेस रिभोल्युसन' अर्थात् 'सुधार बनाम क्रान्ति ।' यो हो के ? आफ्नो तन-मनले खोजेको घर, जीवन, सहर र समाज क्रमिक सुधारमार्फत प्राप्त गर्ने कि क्रान्तिबाट मात्र सम्भव छ ? सामान्य बुझाइ यही हो । समाजवादी कित्ताभित्रका विभिन्‍न धारहरूबीचको यो संवाद र विवाद सय वर्षभन्दा पुरानो हो । हरेक दशक यसको नयाँ संस्करण निस्किरहन्छ । एक दशकअघि निस्किएको अंग्रेजी किताब न्यायिक सहरको खोजी मार्फत यो संवाद/विवादले पश्चिमेली 'सहर' पुनः प्रवेश गर्‍यो । शारीरिक श्रम गरी खाने सामान्य मान्छेहरू बस्ने सहर होइन, प्राज्ञिक कर्म गर्ने विशेष व्यक्तित्त्वहरू टहलिने 'सहर' । यही टहलिने क्रममा एक प्रसिद्ध प्राज्ञिकले गफैगफमा मलाई सोधे, 'के काठमान्डुका सुकुम्बासीहरूलाई प्रोलिटेरिएट मान्‍न सकिन्छ ?'

'प्रोलिटेरिएट' अर्थात् निम्नवर्गीय श्रमिकवर्ग, जो जीविकोपार्जनको लागि आफ्नो श्रम पुँजीवादी बजारमा बिक्री गर्छन् । यी वर्गका लागि जीविकोपार्जनका अन्य उपाय हुँदैनन् । त्यही भएर पेलिँदापेलिँदै अनि पेलिनेछु, ठगिनेछु भनेर थाहा हुँदाहुँदै पनि अन्यायी र अत्याचारी बजारमा होम्मिनुबाहेक अरू उपाय हुँदैन । यतिसम्म बाध्य कि श्रम किन-बेचको सर्तमा समेत आफ्नो केही लाग्दैन । किनकि आफ्नो नाङ्गो शरीरले उत्पादन गर्ने श्रमबाहेक उत्पादनका अन्य कुनै पनि माध्यम या स्रोतमाथि यी वर्गको न पहुँच हुन्छ, न त नियन्त्रण नै। श्रम दैनिकी र अर्थराजनीतिको समकालीन सिलसिलाको पेचिलो विश्लेषण भास्कर गौतमको घतलाग्दो लेख 'श्रमको सामर्थ्य' मा अझ प्रस्ट रूपमा पाइन्छ ।

'प्रोलिटेरिएट' को अर्को मार्क्सवादी पाटो पनि छ, जहाँ 'श्रमको सामर्थ्य' को एक किसिमको बुझाइ छ । प्रोलिटेरिएट मात्र यस्तो जमात हो, जसले पुँजीवादलाई जरैदेखि उखेल्ने सामर्थ्य राख्दछ, बुझाइले भन्छ । माथि उल्लेख गरिएको प्राज्ञिकले बुझ्न खोजेको यही थियो । के काठमाडौंका सुकुम्बासीहरूमा निहित सामूहिक श्रम शक्तिले हामीले खोजेजस्तो न्यायिक सहर जन्माउने सामर्थ्य र सूत्र बोकेको छ ? कुरा यहीँ आएर जटिल बन्छ ।

भूमिहीन सुकुम्बासी आन्दोलन

भूस्वामित्वसहितको सुरक्षित बसोबास। माथि उल्लेखित नाराले बोकेको माग यही हो । अर्को अर्थमा बुझ्दा लालपुर्जाको माग हो । आफूले भोगचलन गरेको जग्गाको कित्तामा आफ्नो नाम होस् । सुन्दा सामान्य लागे पनि यो माग क्रान्तिकारी हो । क्रान्तिकारी यस अर्थमा हो कि संविधानसम्मत जे चीजमाथि कानुनी अधिकार छैन, त्यसैमाथि स्वामित्वको दाबी गरिएको छ । त्यसलाई 'कानुनले नदिए पनि यसमा मेरो हक लाग्छ' भनिएको छ । योभन्दा क्रान्तिकारी दाबी के हुन सक्छ ? नीतिले गैर-कानुनी ठहर गरे पनि नागरिक हक र 'श्रमको सामर्थ' को आड लिई आफ्नो दाबीलाई वैधानिकता दिन खोजिएको छ । नागरिक हकअन्तर्गत राज्यलाई नागरिकप्रतिको जिम्मेवारी र जवाफदेही बोध गराउन खोजिएको छ। अनि 'श्रमको सामर्थ्य' ले भन्छ- 'सामूहिक श्रमको पौरखले जंगली स्यालहरू हिँड्ने भूमिलाई मान्छे हिँड्न-बस्न योग्य ठाउँ बनाऔँ । आधुनिक सहरी स्यालहरूका यान कि भू-माफियाहरूका सिकार हुनबाट ती भूमिलाई बचाऔँ ।

माग त क्रान्तिकारी छ । तर, मागले खोजेको पूर्णता पाएमा त्यहाँ विडम्बना पनि लुकेको छ। विडम्बना यसर्थमा कि पुँजीवादले अथवा भनौं, नवउदारवादी पुँजीवादले वास्तवमा चाहेको पनि त्यही हो । सार्वजनिक वस्तुहरू, प्राकृतिक स्रोतहरू, सामूहिक स्वामित्व र लोकहितको लागि भन्दा व्यक्ति विशेषको निजी स्वामित्वमा आओस्, तब मात्रै सम्भव हुन्छ बजार प्रवेश अनि सुरु गर्न सकिन्छ बजारु भाउमा मोलतोल र किनबेचको शृंखला । सम्पदाको ऐतिहासिकी बोकेका धेरै नेवा: भूमिहरू, किराँत समाधिस्थलहरू, सबैको हविगत त्यही भइरहेको छ । उग्रबजारीकरण अनि चरम व्यापारीकरण ।

जब भूमिहीन श्रमिक वर्गलाई प्रतिनिधित्त्व गर्ने ठूलो जत्थाको मागले पुँजीवादलाई उर्दी दिनुको सट्टा पुँजीवादी सपना साकार पार्ने अनपेक्षित सूत्र बोकेको हुन्छ । सुकुम्बासी समुदायलाई 'प्रोलिटेरिएट' मान्‍न सकिन्छ/सकिन्‍न भन्‍ने सोझो-सिधा प्रश्‍न सुन्दा जति सरल छ, जवाफ उत्ति नै कठिन । नितान्त प्राज्ञिक कर्मले भुइँमान्छेको जीवन दैनिकीको जटिलता परख्न नसक्दा उब्जिँदो हो, यस्तो प्रश्‍न । समाजवादी 'वैज्ञानिकता' ले त्यही जीवन दैनिकीको नाडीलाई समभावी हातले स्पर्श गर्न नसक्दा भन्‍ने गर्दो हो 'संरचनाभित्र खोजेर केही पाइन्छ ?'

निजी सम्पत्ति, भूस्वामित्व वा लालपुर्जाकै सेरोफेरोमा अलि 'नयाँ' भाष्य/मुद्दा उठाउने नै हो भने सामाजिक न्याय र नागरिक हक-अधिकारको क्षेत्रमा गर्न पर्ने आवश्यक 'क्रान्तिकारी' कामहरू धेरै छन्, संरचनाभित्रै रहेर । जस्तै, स्थानीय शासन, नागरिकता र भूस्वामित्वबीचको अन्यायी र अलोकतान्त्रिक पाटाहरू के-के हुन् ? यो राज्य-निर्मित र बजारमार्फत पुनर्निर्मित सम्बन्धले 'नागरिक हक' वरिपरि निर्माण गरेको भाष्यलाई कसरी चिर्ने ? चिर्न किन जरुरी छ ? यी मुद्दाहरूसँग हामी बस्ने सहरको कस्तो किसिमको सरोकार छ ? अनि कस्तो सहरमा बस्ने चाहना छ हाम्रो ? 'हामी' भनेको नै को हो ? एक चोटि यो प्रश्‍नमाथि एकछिन घोत्लिऔँ । तर्क गर्न सकिन्छ, सहर 'योजना' ले कम 'चाहना' ले बढी निर्माण गर्ने हो ।

यस तर्कलाई आधार मान्दा तीन किसिमका नागरिकहरूको कल्पना गर्नुपर्ने हुन्छ । सहरको परिप्रेक्ष्यमा अनि यस लेखको सन्दर्भमा । एक- वर्चस्वशाली घर-जग्गा धनीहरू । दुई- डेरावालहरू । तीन- (अ)नागरिकहरू, जसको न घर छ न डेरा, तर सहरका बासिन्दा भने हुन् । निकै पुराना । तर, पहिलो किसिमको नागरिकको 'चाहना' मात्र प्रायः गन्तीमा पर्ने गर्छ, जहाँसम्म 'योजना' को सवाल छ । धनीमानी, घर-जग्गा भएकाहरू । डेरावालहरूको खासै लेखाजोखा हुँदैन । खासमा तथ्यांकमा समेत पर्दैनन् डेरावालहरू । एकाध डेरावालहरू, जोसँग सामाजिक र राजनैतिक पुँजी छ, उनीहरूको लेखाजोखा हुँदो हो । जसको न घर छ न डेरा, उनको त 'कस्तो सहरमा बस्न चाहन्छौँ' भन्‍ने प्रश्‍नवरिपरि कल्पनासम्म गर्ने अधिकार हुँदैन, चाहनाको त के कुरा ! तर, संविधानभित्र यस्ता केही धाराहरू छन्, जसको वरिपरि सिर्जनशील अभियान र पैरवी चलाए, यी माथिका गहन प्रश्‍नहरूलाई अन्तर्यमै पुगेर चिर्न सकिन्छ । समाधानका सूत्रहरूको पहिचान गर्न सकिन्छ । भूमिहीन आन्दोलनमा पछिल्ला दुई दशकदेखि सरिक लडाकु अभियन्ता स्मीता आचार्यलिखित 'नो लालपुर्जा नो भोट' शीर्षकको लेखमा यस्तै केही सूत्रहरूको पहिचान गरी तीनको अर्थ-राजनीति चिरफार गरिएको छ ।

एक मित्रले भनेजस्तो, संविधानबाहिरभन्दा पनि संविधानभित्रका धाराहरूमा पानी बगून्, पुनर्लेखन र संशोधनमार्फत । त्यस्तो सिर्जनशील कार्य/कार्यक्रमहरूको छ, खाँचो । यो आवश्यक कर्मका लागि अहिलेको ऐतिहासिक घडीमा हामीलाई चाहिने भनेको संवाद हो ।

प्रोलिटेरिएट सुकुम्बासी

मार्क्सवादी चिन्तकहरूका लागि सुकुम्बासीहरू 'प्रोलिटेरिएट' मा रुपान्तरित हुने हैसियत राख्लान्/नराख्लान्, त्यो भविष्यले बताउला । तर, समकालीन इतिहासतिर एकछिनका लागि फर्केर हेर्दा एक दशक लामो माओवादी जनयुद्धका प्रोलिटेरिएटहरू सुकुम्बासीमा परिणत भएको दृष्टान्त बागमती किनारमा कहीं-कहीं देखिन्छ । मनसुनी भेलले अस्तव्यस्त पारेका ती सुकुम्बासी बस्तीका बासिन्दाहरू कुनै बेला पुँजीवादको हुर्मत लिने हैसियत राख्थे । संसारभर छरपस्टिएर रहेका पुँजीवादविरोधी संघर्ष र विद्रोहका लागि प्रेरणादायी ऊर्जा थिए । ती सब अब इतिहासमा सीमित रहे । अहिलेलाई यति भनौं, ती प्राज्ञिकको प्रश्‍नको उत्तरहरू, मनसुनी भेलले बिल्लीबाट बनाएका बस्तीहरूबीच यत्रतत्र छरिएर र फिँजिएर बसेका छन् । टिप्‍ने, जोड्ने अनि सुन्‍ने-बुझ्‍ने जरुरी कर्म प्राज्ञिकहरू टहलिने 'सहर' भित्रै मात्र रही-बस्दा धेरै सम्भव नहोला ।

तीतो सत्य के हो भने केही यस्ता क्रान्तिकारी समाजवादी आकांक्षा र अवधारणाहरू हुन्छन्, जसलाई मूर्त रूप दिनका लागि अब समय घर्किसकेको ऐतिहासिक समय हो, यो । सायदै त्यस्तो कुनै सिद्धान्त र वैचारिकी होला, जो 'शुद्ध' हिसाबले कालजयी छ, अजेय छ । तर, वैचारिकीबिनाको यात्रा खोक्रो हुन्छ । वैचारिकी चाहिन्छ । किनकि 'सोच' आफैंमा पनि एउटा संरचना हो । संरचनामा हान्‍न पर्छ, जरुरी छ । लेख, कविता, किताब, कला, भाषण, नाटक, गीत अनि संगीतमार्फत । अनित्य कर्म हुन पर्छ त्यो । तर, त्यो समाजवादी संसार, जो हाम्रो अवधारणा, आकांक्षा, काल्पनिकीमा छ, त्यो 'भोलि' कै गर्भमा मात्र छ । नत्र १ सय ७६ वर्षअघि कार्ल मार्क्सले भनेको कुरा अहिले पनि हामीलाई किन सान्दर्भिक लाग्छ ? 'दार्शनिकहरूले संसारलाई अनेक कोणबाट बुझे, व्याख्या गरे । मूल मुद्दा त संसार परिवर्तन गर्नु हो ।' यो भनेको संसार 'परिवर्तन' न डेढ दुई सय वर्षअघि भयो, न त डेढ दुई सय वर्षपछि नै हुनेछ । अब आउने डेढ दुई सय वर्षपछि पृथ्वी बाँकी रहे, हामी पछिकाले पनि हामीजस्तै मार्क्सको कुरालाई आफ्नै हिसाबले उद्धृत गर्दै जाँदो हो । क्रान्तिलाई यसै अन्तहीन यात्रा भनिएको होइन ।

तर, डेढ दुई सय वर्षअघि र डेढ दुई सय वर्षबीच पनि एकाध जीवनहरू छन्, जो जिउँदा छन्, समकालीन छन्, जसका परिवारहरू छन्, घर छ, घर चाहिएको छ । वर्गीय र वैचारिकीका हिसाबले 'भुइँ मान्छे' ठानिएकाहरूको जीवन दैनिकीले पहिल्याएको मुक्तिको बाटोको गन्तव्य, संरचनाभित्र वा बाहिर पर्छ भनेर परख्ने अनि 'क्रान्तिकारी' तराजुमा त्यसको तौल लिएर फैसला सुनाउने गैर-भुइँमान्छेहरूले केही कुराहरूको हेक्का राख्न जरुरी छ । आफ्नो वैचारिकीलाई मुक्तिको ओखतीजस्तै गरी प्रस्तुत नगर्दा त्यसको सान्दर्भिकताले सम्मानजनक राजनैतिक र वैचारिक संवादको लागि ठाउँ बनाई राख्न सम्भव हुन्छ । तर, वैचारिकीलाई 'विज्ञान' को खोल ओढाएर डाक्टरले जस्तो 'प्रेसक्राइब' गर्दा असान्दर्भिक भएर जाने सम्भावना बढेर जाने डर हुन्छ । त्यसो गर्दा वैचारिकीले बास पाउने घरहरू बाँकी नरहन सक्छ । अनि घरहरूले थकित आवाजमा भन्‍न सक्छन् 'जाऊ, तिमी मदेखि टाढा जाऊ । मलाई थाहा छैन, तिमी के बकिरहेछौ ?'

जीवन दैनिकीलाई अझ न्यायिक बनाउने कति सूत्रहरू संरचना, संविधानभित्रै भेटिन्छन् । अन्यायी जीवन जिउनेहरूले दशकौँको संघर्षपछि बुझेको पनि त्यहो हो । एक मित्रले भनेजस्तो, संविधानबाहिरभन्दा पनि संविधानभित्रका धाराहरूमा पानी बगून्, पुनर्लेखन र संशोधनमार्फत । त्यस्तो सिर्जनशील कार्य/कार्यक्रमहरूको छ, खाँचो । यो आवश्यक कर्मका लागि अहिलेको ऐतिहासिक घडीमा हामीलाई चाहिने भनेको संवाद हो । क्रान्तिकारी सैद्धान्तिक वैचारिकी र अन्यायी जीवन दैनिकीबीच संवाद । एकथरी थचक्क बसेर अनि अर्कोथरी ठिङ्ग उभिएर होइन कि समान धरातलमा रहेर समभावले भरिएको बृहत् ऐक्यबद्धतासहितको संवाद ।