साहित्य

डेगेन्द्र राजवंशीको आत्महत्या: एक क्रूर हत्यागाथा

डेगेन्द्र राजवंशीले नेकपा एमाले पार्टी कार्यालयमा आरुबखडाको रुखमा तौलिया–पासो लगाई आत्महत्या गरेको घटना (४ बैशाख, २०६७) हेर्दाखेरी सामान्यजस्तो लागे पनि यसको अन्तर्यमा चाहिँ कम्युनिस्ट आन्दोलनको एउटा दारुण व्यङ्ग्य छिपेको छ । यस घटनालाई सामान्यतामा सीमित राखिएपछि जुन पीडामा म डुबेँ, त्यसलाई नै मैले काव्यमा उतारेँ । सामान्य व्यक्ति या पात्र मात्र होइन– डेगेन्द्र राजवंशी, उनी सिंगो कम्युनिस्ट आन्दोलनको सार हो । कम्युनिस्ट आन्दोलन र राजनीतिमा भए–गरेका ऐतिहासिक धोका, विसंगति, हेपाहा प्रवृत्ति, विरोधाभासहरूको एउटा सारतत्त्वका रूपमा पनि उनलाई लिन सकिन्छ । 

डेगेन्द्र राजवंशी एक व्यक्ति मात्र होइनन् ।

एकजस्तो देखिए पनि उनी एक होइनन् । यहाँ हजारौं डेगेन्द्र राजवंशीहरू थिए/छन्, जसले कम्युनिस्ट आन्दोलनमा आफ्‍नो सिंगो जीवन अर्पण गरे । त्यसर्थ उनी त हजारौंको प्रतिनिधि पात्र हुन् । नेपालको कम्युनिस्ट इतिहासमा यस्ता केही पात्रहरू मात्रै दृश्यमा आउँछन्, हजारौं डेगेन्द्रहरू पृष्ठभूमिमा छन्, नेपथ्यमा छन् । ती हजारौं डेगेन्द्र राजवंशीहरूलाई काव्य–श्रद्धाञ्जली दिनका लागि पनि यो कविता लेखिएको हो ।

यो कविता मैले केही वर्षअघि लेखेको भए पनि प्रकटीकरण भइरहेको थिएन । यो कविता कुनै ऐतिहासिक गाथाको रूपमा लेखेको भने होइन । एउटा लामो कालखण्डबाट गुज्रिँदा काव्यिक प्रतिरोधका रूपमा खुला अभिव्यक्ति दिएको मात्रै हुँ । यसको सिलसिला त दिमागमा पहिलेदेखि नै थियो । कवि हुनुको नाताले लेख्‍ने बेलामा अनायास कविता भएर आयो । यदि म आख्यानकार भएको भए आख्यानै आउँथ्यो होला । 

कम्युनिस्टलाई सामान्य जनजीवनको सरोकारसँग जोडिएको पार्टी भनिन्छ । त्यही पार्टीको मुख्य अड्डामै कम्युनिस्ट आन्दोलनको योद्धाले आत्महत्या गर्न पुग्‍नु कुनै छुटफुट घटना होइन । त्यसका पछाडि कैयौं कारणहरू छन् । गम्दै जाँदा मलाई यो धेरै भीषण कुरा लाग्यो । यसै सिलसिलमा मैले पनि एउटा काव्यात्मक छानबिन गर्न खोजेको मात्र हुँ ।

कवितामै भनेको छु– 

...कमरेड डेगेन्द्र राजवंशीको 
आत्महत्या यस समयको 
सबैभन्दा क्रूर हत्यागाथा 
छिपेको हुनुपर्छ जरुर...
 

यो अहिलेको समयको सबैभन्दा क्रूर हत्यागाथा हो । एउटा सामान्य भनिएको आत्महत्या त भयानक हुन्छ भने यो त झन् सामान्य हुनै सक्दैन ।

अहिलेको नेकपा एमालेको गतिविधि कत्तिको पाखण्ड रहेछ भन्‍ने जीवित तथ्य पनि हो, डेगेन्द्र राजवंशी । 

म पनि बच्चा हुँदा बुवासँग बस्ने क्रममा झापामा पढेको हुँ । झापा विद्रोहताका म वीरगन्जमा थिएँ । केही समय विराटनगरमा पनि बसेँ । तैपनि, डेगेन्द्र राजवंशीसँग मेरो व्यक्तिगत रूपमा प्रत्यक्ष चिनजान भएन । भूमिगत मालेको ‘स्पिरिट’ सँग म सम्बद्ध रहिरहेँ । डेगेन्द्र राजवंशी भने त्यस आन्दोलन या संघर्षमा समर्पित भएर सशरीर नै लागेका योद्धा हुन् । उनी एक दशक लामो जेल जीवन बिताएका एक संघर्षशील कम्युनिस्ट कार्यकर्ता थिए । ०२८ सालबाट सुरु भएको झापा विद्रोहका बेला नेकपा मालेबाट राजनीतिमा होमिएका डेगेन्द्र ०३३ सालमा झापा आन्दोलन हुँदा सीपी मैनाली, आरके मैनाली आदिका सहयात्री थिए । तत्कालीन मालेका नेताहरूलाई ‘सेल्टर’ दिएर सघाएको आरोपमा राज्यविरुद्धको अभियोग लगाएर उनी ९ वर्ष जेल चलान भए । ०४६ बाट उनी एमाले कार्यकर्ता भए । ०६२/०६३ सालको जनआन्दोलनताका उनको खुट्टामा गोलीसमेत लागेको रहेछ ।

तर, उनलाई केन्द्रीय राजनीतिमा सक्रिय भएर उठ्नै दिइएन ।

त्यसैले मलाई लाग्छ– डेगेन्द्र राजवंशीहरूका सपनालाई कुल्चेर नै नेकपा एमालेको हेडक्वार्टर ठड्याइएको हो । ती सपनाहरूलाई सफल पार्न त्यो हेडक्वार्टर ठडिएको भए एउटा शानदार काम हुन्थ्यो । तर, त्यसको विपरीत उनीहरूका सपनाहरूको चिहानमा खडा गरियो, त्यो । त्यहाँ बसेर सामान्य जनका लागि काम गर्छु भनेर घोषणा गर्ने तर त्यसविपरीत व्यवहार गर्ने काम जारी रह्यो । त्यसैलाई मैले भनेको छु –

नेपाल कम्युनिस्ट पार्टीको 
त्यो हेडक्वार्टरमा 
जहाँ कमरेड डेगेन्द्र राजवंशीको
आत्महत्यात्मक हत्या 
भएको थियो नृशंसतापूर्वक
त्यहाँ बिहानैदेखि नै
पोलिटब्युरोको मिटिङ
भइरहने गर्छ प्रतिदिन

...
स्थायी कमिटीका मेम्बरहरू
गरिब, दुःखी र सर्वहाराहरूका
सम्पूर्ण पक्षमा गर्ने गर्छन्
निरन्तर लामा–लामा
अलौकिक बहस,
छलफल र वार्ता
(दिन–दिनभरि नै)
त्यसपछि अँध्यारो रात हुन्छ
र प्रारम्भ हुने गर्छ एक्कासि
विचित्र प्रकारको हलचल,
खलबली र कोलाहल...

रात–दिन नै अलौकिक बहस गर्ने तर, डेगेन्द्रहरूलाई आत्महत्या गर्न बाध्य पार्ने । यो त भएन नि !

‘जबज’ सिद्धान्त–कार्यक्रम अपनाएपछि एमाले पार्टीसँग मेरो मोहभंग भयो । मैले त्यसको विरोधमा ‘तिम्रो शासनको एउटा कमरेड हुँ म ...म धेरै प्रेम गर्छु, तिम्रो सुन्दरी छोरी प्रजातन्त्रसँग...’ भन्दै ‘प्रेम’ शीर्षकमा कविता नै लेखेको थिएँ, जुन कविता छाप्न कोही सहजै तयार भएनन् । पछि ‘दृष्टि’ साप्ताहिकमा छापियो । त्यो कविता पूर्णतः मदन भण्डारीको विरुद्धमा लेखेको हुँ । 

‘जबज’ सिद्धान्त–कार्यक्रम अपनाएपछि एमाले पार्टीसँग मेरो मोहभंग भयो । मैले त्यसको विरोधमा ‘तिम्रो शासनको एउटा कमरेड हुँ म ...म धेरै प्रेम गर्छु, तिम्रो सुन्दरी छोरी प्रजातन्त्रसँग...’ भन्दै ‘प्रेम’ शीर्षकमा कविता नै लेखेको थिएँ, जुन कविता छाप्न कोही सहजै तयार भएनन् । पछि ‘दृष्टि’ साप्ताहिकमा छापियो । त्यो कविता पूर्णतः मदन भण्डारीको विरुद्धमा लेखेको हुँ ।

डेगेन्द्र राजवंशी जनवादी आन्दोलनमा समर्पित एक योद्धा हुन् । उनीजस्तै माओवादी जनयुद्धका हजारौं योद्धाहरूले पनि आफ्ना ज्यानै आहुति दिए । मालेनिकट ज्ञान भएरै मैले ‘डेगेन्द्र’ को कविता लेखेँ । आन्दोलनमा जीवनभर समर्पित एउटा सच्चा कम्युनिस्ट योद्धा आफ्नै पार्टीको हेडक्वार्टरमा आत्महत्या गर्न पुगे । त्यसको पछाडि त कति लामा–लामा उथलपुथलपूर्ण कथा जोडिएका होलान् । कल्पना गर्न पनि गाह्रै छ । त्यति मात्र होइन, उनको कान्छा छोरा शम्भुले पनि आत्महत्या गरे– मैले कतै सुनेँ । त्यसै त आत्महत्या गरिएको होइन । त्यसैले भनेको छु– मैले डेगेन्द्रको आत्महत्या ‘जत्तिकै साँचो हो, त्यत्तिकै झूटो पनि हो ।’ आत्महत्या यद्यपि आत्महत्यै हो । तर, त्यसभन्दा बढी त्यो आत्महत्यात्मक हत्या हो, एउटा क्रूर हत्यागाथा हो नै ।

यो कति क्रूर हत्यागाथा हो भन्‍ने कुरा त हत्याराहरूलाई नै थाहा होला ।

त्यो घटना भएको बेला कम्युनिस्ट नेताहरू विचारच्युत भइसकेका थिए । उनीहरू मार्क्‍सवादको आधारभूत सिद्धान्तबाट करिब–करिब अलग नै भइसकेका थिए । त्यसैले पनि यो घटना भएको हो । त्यतिबेला प्रधानमन्त्री माधवकुमार नेपाल थिए । सरकारको ध्यानै गएन । 

यसमा दुइटा कुरा छन्ः पहिलो– एमालेहरूले यसलाई ढाकछोप गर्दै एउटा सामान्य घटनाको रूपमा लिए । दोस्रो– मिडियाले पनि ध्यानै दिएन । 

मिडियाले त्यस घटनालाई खासै महत्त्वै दिएको पाइएन । माधवकुमार या ओलीले केही बोल्नेबित्तिकै छापामा आइहाल्ने । नेताहरू कुनै श्राद्ध भइरहेको ठाउँमा भाषण गर्न पुगे भने त्यहाँ पनि मिडियामा आउने । तर, दुःखको कुरा– यस घटनाको विषयमा खास चर्चै भएन । 

मैले ‘प्रतिपक्ष’ साप्ताहिक निकाल्ने बेलामा विद्या भण्डारी र केपी ओलीको ‘समाचार’ आउँदाखेरी मसँग पार्टीका मान्छेहरू खुब रिसाए र मेरो विरोधमा निकै लागे । विमल निभालाई पार्टीबाट निकाल्नु पर्छ भन्‍ने पनि कुरा उठ्यो । तर, कसरी निकाल्ने ? म त कुनै पार्टीमै आबद्ध थिइनँ !

ठूलो चर्चा नभए पनि बिस्तारै गाइँगुइँ हुँदै आयो । खासमा सक्दो ढाकछोप गर्नै खोजिएको थियो । उनीहरू भन्थे– ‘हेडक्वार्टरमा आएर कचकच गथ्र्यो, छोरालाई नोकरी दिलाइदेऊ भन्थ्यो, बेकारको मान्छे मरेर गयो ।’ असीम ‘टर्चर’ दिएपछि उनलाई आत्महत्या नै गर्न बाध्य पारियो । यो निर्ममता–हृदयहीनताको पराकाष्ठा नै हो । त्यत्ति संवेदनशील घटनालाई सामान्य बनाएर ढाकछोप नै गरिरह्यो । वास्तवमा कविहरूले मात्र ध्यान दिनुपर्नेजस्तो भयो । नेपाली मिडिया सामान्य जनका लागि भने साह्रै असंवेदनशील छ । त्यस घटना मैले पनि सामाजिक सञ्‍जाल या फेसबुकबाट थाहा पाएको हुँ । अनि, पछि साथीहरूबाट धेरै थाहा पाएँ । मेरो त नेकपा एमालेसँग त्यो बेला सम्बन्ध–विच्छेद नै भइसकेको थियो । 

त्यही पृष्ठभूमिबाट आएकाहरू कोही अर्बपति हुने, कोहीचाहिँ सामान्य जागिर पनि पाउन नसक्ने स्थिति हुने र दुई छाकका लागि संघर्षमै जीवन व्यतीत गर्नुपर्ने स्थिति छ । यस्ता जे–जति विसंगतिहरू छन्, तिनै विसंगतिहरू समाजमा कम गर्न नै कम्युनिस्ट पार्टीहरू लागेका त हुन् नि ! तर, तिनीहरूभित्र यस्तो अनेकौँ विसंगतिहरू देखा परे । त्यसैमा उनीहरूको पाखण्ड देखिन्छ । 

त्यही घटनाले मेरो अचेतनमा लामो समयदेखि असर गरिरहेको थियो । तत्काल लेख्न सकिरहेको थिएन । धेरै सोचेपछि यो कविता बल्ल–बल्ल लेखेँ । तैपनि, मैले यो कविता खासै लेख्न सकिनँ भन्‍ने लाग्छ । यो घटना जति ठूलो हो, कविता त्यसरी लेख्नै सकिनँ । डेगेन्द्र राजवंशीको पीडाको पाँच प्रतिशतभन्दा बढी उतार्न सकिनँ । उनको पीडालाई कवितामार्फत अलिकति बुझ्‍ने प्रयत्‍न मात्र गर्न सकेँ ।

झापा विद्रोहमा डेगेन्द्रको मात्र नभई उनको समुदायकै ठूलो भूमिका छ । खालि ओली या राधाकृष्णहरूले विद्रोह गरेका होइनन्, त्यहाँका थारुदेखि अरू उत्पीडित जनजातिहरूको समेत बलियो संलग्‍नता थियो ।

अहिले नेपालको सबभन्दा बढी दक्षिणपन्थी पार्टी कुन छ भनी कसैले सोध्छ भने त्यो नेकपा एमाले नै हो । तर, वामपन्थी भनिन छाड्दैन । मार्क्‍सको नाम लिन्छ, तर विचारमा केही छैन ।

म वीरगन्जमा स्कूल पढ्ने बेला कमरेड पुष्पलाल नेपालमा आउन सक्दैनथे । उनी रक्सौलसम्म मात्र आउँथे । लजमा बस्थे । अनि, त्यहाँका केटाहरूलाई संगठित गर्ने प्रयास गर्थे । त्यति बेला कम्युनिस्ट पार्टी पनि एउटै थियो । त्यसैमा युवाहरूलाई आबद्ध गराउँथे । मेरा स्कुलका एकाध मिलनसार साथीहरू भेट्न पनि जान्थे । उनीहरूले त्यसरी कुरा गर्दागर्दै म पनि आकर्षित हुँदै गएँ । मलाई पनि पुष्पलालले नै संगठित गरेका हुन् । संगठनमा कार्यकर्ताभन्दा एउटा कम्युनिस्ट पार्टीको वैचारिक–भावनात्मक समर्थकको रूपमा मात्र रहेँ । एउटा शुभेच्छुक मात्र हुँ । अहिले पनि त्यही हुँ । मेरो कुनै पार्टीमा औपचारिक आबद्धता छैन । बरु मैले मार्क्‍सवादलाई एउटा केन्द्रीय विचारको रूपमा साहित्यमा ग्रहण गरेँ । म आफ्‍नो विचारमा कहिल्यै सम्झौता गर्न सक्दिनँ । मैले ‘प्रतिपक्ष’ साप्ताहिक निकाल्ने बेलामा विद्या भण्डारी र केपी ओलीको ‘समाचार’ आउँदाखेरी मसँग पार्टीका मान्छेहरू खुब रिसाए र मेरो विरोधमा निकै लागे । विमल निभालाई पार्टीबाट निकाल्नु पर्छ भन्‍ने पनि कुरा उठ्यो । तर, कसरी निकाल्ने ? म त कुनै पार्टीमै आबद्ध थिइनँ !

डेगेन्द्र राजवंशीको आत्महत्या एउटा व्यक्तिवृत्तमा सीमित छैन । यो त सिंगो मार्क्‍सवादी आन्दोलनसँग पनि जोडिन्छ । गरीखाने जनताको वेदनासँग पनि जोडिन्छ, यो । यो आत्महत्या धेरै चीजसँग जोडिन्छ । यो कम्युनिस्ट आन्दोलनसँग जोडिएकै कारण मलाई सबभन्दा बढी लेख्न बाध्य गराएको कुरा हो । आत्महत्या कतिले गरे–गरे । तर, यो आत्महत्या भनेको कम्युनिस्ट आन्दोलनको अवसानजस्तै हो, जुन घटना सामान्य ठाउँमा नभई आफूलाई कम्युनिस्ट भन्‍नेहरूको पार्टीको हेडक्वार्टरमै घटित भयो । यसमा विविध अन्तरसम्बन्धहरू जोडिएकाले एउटा भयानक र दारुण विम्बले घचघचाइरहेको थियो । 

फेरि म दोहोर्‍याउँछु कि हेर्दा–सुन्दा सामान्य घटनाजस्तो लाग्‍न सक्छ तर यथार्थमा यो आत्महत्या असामान्य घटना हो । यसको एउटा कारक पृष्ठभूमि वामपन्थी राजनीतिको चरम भाँडभैलो हो । अहिले पनि यही स्थिति छ । यो आन्दोलन ठीक ठाउँमा छैन । त्यो ठीक ठाउँमा नभएको एउटा बलियो प्रमाण डेगेन्द्रको आत्महत्या पनि हो । ठीक ठाउँमा भएको भए यो हुँदैनथ्यो ।

‘श्‍वासवान् शव’ का रूपमा रहेका अहिलेका राजनीतिक नेताहरूको शरीर जिउँदा देखिए पनि ती वैचारिक रूपमा मृत भइसके । त्यसैले ‘पराभौतिक शरीर’ भनी लेखेको पनि छु ।

अब केपी ओलीलाई हेरेर कोही नयाँ युवाहरू कम्युनिस्ट आन्दोलनसँग जोडिन आउँछन् त ? माधव नेपाललाई नै पनि आदर्श ठानेर कोही आउँलान् त ? आउँदैनन् नि ! आइहाले पनि कस्ता आउँछन् ? ठोकठाक गर्ने महेश बस्नेतजस्ता न आउने हुन्!

सरसर्ती हेर्दा सुरुमा यो कविता कम्युनिस्टहरूको विरोधमा लेखेजस्तो लाग्‍न सक्छ । तर, वास्तवमा उनीहरूको विरोधमा भन्दा पनि कम्युनिस्ट आन्दोलनको समर्थनमा लेखिएको कविता हो– ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ । आजको कम्युनिस्ट आन्दोलन त विचलित भयो, गलत बाटोतिर गयो । त्यसैको चिन्ताको प्रकटीकरण हो, यो कविता । यसो भनौँ– आलोचनाको लागि मात्र होइन, यो त कम्युनिस्टको नाममा बदमासी गर्ने नक्कली कम्युनिस्टहरूको विरुद्धमा लेखिएको कविता हो ।

डेगेन्द्रहरू गुमनाम छन् । यसको मुख्य कारण अहिलेका कम्युनिस्ट भनाउँदा हर्ताकर्ता नेताहरूको षड्यन्त्र हो । सहयोद्धाहरूलाई नेतृत्व पंक्तिका नेताहरूले ‘ट्रिक’ मात्र गरिरहे । भुइँका मान्छे अगाडि ल्याउनलाई कम्युनिस्ट आन्दोलन भएको हो । माथि उठाउनु त कहाँ–कहाँ उल्टै भुइँमान्छेहरूलाई भुइँमै कुल्चेर राखे । तिनैमध्ये एक हुन्– डेगेन्द्र राजवंशी पनि । त्यही कुल्चिएर राख्नुको दुष्परिणाम हो, आत्महत्या ।

अब त नयाँ युवा पुस्तामा कम्युनिस्टप्रति नै नकारात्मकता भरिँदै गएको देखिन्छ । कम्युनिस्ट भनेको त ठग होजस्तो भान परिसक्यो । अब केपी ओलीलाई हेरेर कोही नयाँ युवाहरू कम्युनिस्ट आन्दोलनसँग जोडिन आउँछन् त ? माधव नेपाललाई नै पनि आदर्श ठानेर कोही आउँलान् त ? आउँदैनन् नि ! आइहाले पनि कस्ता आउँछन् ? ठोकठाक गर्ने महेश बस्नेतजस्ता न आउने हुन् ! पहिले–पहिलेजस्तो एउटा विचार, आदर्श र निष्ठाले लाग्‍ने अहिले छजस्तो लाग्दैन । चितवनमा त्यत्ति धेरै जम्मा भएकाहरू धेरैजसो त घुम्न गएकाहरू हुन् या खान गएकाहरू नै हुन् ! वास्तवमा त्यहाँ पनि अधिकांश त हुर्दुङ्गेहरू नै जम्मा भएका हुन् । आफूलाई वामपन्थी भन्छन्, कम्युनिस्ट पार्टी नाम राख्छन् अनि अनेक नाटकबाजी गर्छन् । मार्क्‍सवादी–लेनिनवादी भन्छन् । तर, ठोरीमा राम मन्दिर बनाउन अघि सर्छन् । ‘मोदीको कपी’ गर्दै हिँडिरहेछन् । वास्तवमा अहिले नेपालको सबभन्दा बढी दक्षिणपन्थी पार्टी कुन छ भनी कसैले सोध्छ भने त्यो नेकपा एमाले नै हो । तर, वामपन्थी भनिन छाड्दैन । मार्क्‍सको नाम लिन्छ, तर विचारमा केही छैन । त्यो त टिसर्टमा चे ग्वाभारा बोकेर हिँडेजस्तै हो । एमाले पनि त्यस्तै टिसर्टजस्तै त हो नि !

                                       प्रस्तुतिः छम गुरुङ