त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र विभागमा झण्डै तीन दशकदेखि प्राध्यापनरत प्राध्यापक डा. बिन्दु पोखरेल महिला अधिकारको क्षेत्रमा प्रखर आवाजका रूपमा स्थापित छिन् । पोखरेलसँग ‘जेन्डर स्टडिज’ मा खारिएको अनुभव छ । उनको सहलेखनमा ‘लैङ्गिक अध्ययन’ नामक पुस्तक प्रकाशित छ । उनै पोखरेलसँग चेतलुङका लागि प्रणेताले गरेको कुराकानीको सम्पादित अंश ।
नेपालको महिला आन्दोलन कमजोर हुँदैछ भन्ने आशंकाबीच तपाईंले यसलाई कसरी हेरिरहनु भएको छ ?
विश्वका अधिकांश आन्दोलनहरूको हकमा के हुने गर्छ भने यो कुनै बेला वेगमा हुन्छ भने कुनै बेला शान्त ढंगले अघि बढिरहेको हुन्छ । उदाहरणका लागि महिला हिंसासँग सम्बन्धित मुद्दाहरूमा यो वेगवान् हुन्छ भने त्योभन्दा बाहेकको समयमा सतहमा नदेखिने गरी अघि बढिरहेको हुन्छ । तर, स्पष्ट शब्दमा के भन्न सकिन्छ भने यो पूर्ण रूपमा सेलाएको भने हुँदैन । कुनै न कुनै रूपमा त चलिरहेकै हुन्छ । त्यसकारण नेपालको महिला आन्दोलन पनि कमजोर भयो भन्न मिल्दैन ।
नेपाली महिला आन्दोलनको इतिहासलाई कसरी समीक्षा गर्न मिल्छ ?
दुःखको विषय के हो भने नेपालमा महिलाको दृष्टिविन्दुबाट अथवा उनीहरूलाई नै नायक बनाउने गरी इतिहास लेखिएकै छैन । हामीसँग विगतमा कति महिला आन्दोलनमा होमिए भन्ने बारे स्पष्ट जानकारी छैन । संघर्षको थालनी गर्नेहरूमा योगमायाको नाम आउने गर्छ । त्यो पनि धेरैपछि खोतलेर निकालिएको हो । जुनसुकै व्यवस्थाले, जब दमनको बाटो अख्तियार गर्छ, त्यहीँबाट आन्दोलनको आवाज पनि उठ्न थाल्छ । त्यसैले सामान्य अवधारणामा टेकेर हामी के भन्न सक्छौँ भने पितृसत्तात्मक व्यवस्थाको आरम्भ भएदेखि नै महिला आन्दोलन सुरू भयो । हाम्रा हजुरआमा तथा उहाँभन्दा पनि पहिलेका पुस्ताले संघर्ष र आन्दोलन गरेकै हुनाले त यहाँसम्म परिवर्तन हुँदै आयो । महिलाहरूले त्यति बेला पनि आन्दोलनलाई अघि बढाइरहेका थिए । तर, त्यसको अभिलेखीकरण हुन सकेन ।
जकडिएको सामाजिक व्यवस्थाबाट महिलालाई स्वतन्त्र बनाउँदै आत्मनिर्णयको अधिकारसम्म पुर्याउन के गर्नु पर्ला ?
तपाईंले महत्त्वपूर्ण प्रश्नसोध्नुभयो । हाम्रो जस्तो समाजमा परिवारको निकै ठूलो भूमिका रही आएको छ । संयुक्त परिवारमै मिलेर सबै बस्नुपर्छ भन्ने धारणाले बलियो गरी जरा गाडेकै कारण परिवार टुक्रिनुलाई राम्रो मानिँदैन । परिवार टुक्रिन पुगेमा त्यसको दोष महिलालाई नै दिने खालको हाम्रो सामाजिक बनोटमा, जब अधिकांश नेपाली घुम्न, अध्ययन गर्न र कामका सिलसिलामा देश–विदेश जान थाले त्यसपछि सामाजिक संरचनामा पनि फेरबदल देखिन थाल्यो । स्वभाविक रूपमा यसले नेपालको महिला आन्दोलनमा पनि प्रभाव पार्यो ।
जुनसुकै व्यवस्थाले, जब दमनको बाटो अख्तियार गर्छ, त्यहीँबाट आन्दोलनको आवाज पनि उठ्न थाल्छ । त्यसैले सामान्य अवधारणामा टेकेर हामी के भन्न सक्छौँ भने पितृसत्तात्मक व्यवस्थाको आरम्भ भएदेखि नै महिला आन्दोलन सुरू भयो ।
पहिले महिलाहरू घरमा मात्र सीमित हुने गर्थे । तर, पछिल्ला केही दशकहरूमा उनीहरू विभिन्न क्षेत्रमा नेतृत्व गर्ने गरी नै अघि बढ्न थाले । ती महिलाहरू, जसले देश–विदेशमा काम गर्ने अवसर पाए, उनीहरूले हामी दमित हुनु परेको कारण भाग्य होइन रहेछ भन्ने बुझे । उनीहरूले अघिल्लो जन्मका कारणले भन्दा पनि शिक्षाको अभावमा हामी पछि पारेका रहेछौँ भन्ने बुझे । सँगसँगै उनीहरूले विश्वका कुना–कुनामा भइरहेका महिला आन्दोलनलाई पनि नजिकदेखि नियाले । यो सबैको प्रभाव नेपाली महिला आन्दोलनमा पर्नु स्वभाविक थियो । तपाईंले सोध्नुभएको प्रश्नको एक वाक्यमा जवाफ दिने हो भने हामीले महिलालाई शैक्षिक र आर्थिक रूपमा आत्मनिर्भर नबनाईकन उनीहरूलाई अधिकारसम्पन्न बनाउन सकिँदैन भन्नुपर्ने हुन्छ ।
महिला आन्दोलनलाई राजनीतिक आन्दोलनकै रूपमा बुझ्नु सान्दर्भिक हुन्छ वा त्योभन्दा भिन्न ?
महिला आन्दोलनलाई हामीले राजनीतिक आन्दोलनभन्दा भिन्न रूपमा होइन कि राजनीतिक आन्दोलनकै रूपमा बुझ्नुपर्ने हुन्छ । विभेदको अन्त्य, भोट हाल्न पाउने अधिकार, संसद्मा प्रतिनिधित्वको सवाल राजनीतिक सवाल हुन्, जसलाई महिलाहरूले आजपर्यन्त उठाइरहेकै छन् ।
हामीले कुनै एउटा विभेद हटाउँदैमा समाज समतामुलक र विभेदरहित भइहाल्दैन । त्यसैले हाम्रो प्रयत्न सबै खाले विभेद र असमानता हटाउनुमै केन्द्रित हुनुपर्छ । कहाँसम्म भने प्रकृतिमाथिकै विभेद हटाउनका लागि पनि हामीले प्रयत्न गर्नु जरुरी छ ।
ऐतिहासिक रूपमै महिलामाथि भइरहेको दमन, शोषण र हिंसाको राजनीतिलाई जब महिलाले बुझे त्यसपछि त्यसका विरुद्ध आन्दोलन संगठित हुँदै गयो । शुरुमा यो एक जनाको सोचमा मात्र सीमित थियो । तर, जब महिलाहरू एक–आपसमा कुरा गर्न थाले, आफ्ना भावनाहरू साटासाट गर्न थाले अनि उनीहरूले बुझे– यो त हामीमाथि व्यवस्थाद्वारा लादिएको रहेछ । त्यसपछि यो चेतनाले आन्दोलनको रूप ग्रहण गर्दै गयो । विभिन्न खाले व्यवस्थाले महिलाको शोषण गरिरहेका छन् भने सँगै यो राजनीतिक सीमा नाघ्दै अघि बढ्न थाल्यो । यहीँबाट यसले आफ्नो राजनीतिक स्वरूप ग्रहण गर्न थाल्यो भन्दा हुन्छ ।
नेपाली महिला पहिले आफ्नो दुःख–पीडा तीजको गीतमार्फत पोख्ने गर्थे । त्यहाँ भाग्य र कर्मलाई दोष दिने परिपाटीले संस्कारकै रूप ग्रहण गरेको थियो । महिलाले गुनासो पोख्थे तर हुँकार गर्ने साहस गर्दैन्थे । आजका दिनमा भने नेपाली महिलाको अवस्था फेरिएको छ । उनीहरू तीज गीतमार्फत समाजलाई चुनौती दिइरहेका छन् र अधिकारका लागि हुँकार पनि गरिरहेका छन् । मार्क्सले ‘सर्वहारावादी चेतना’ भने जस्तै महिलामा पनि आफूलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने चेतनको विकास भएको छ । त्यसैले उनीहरू आफ्नो अधिकारका लागि विश्वभर संघर्षरत छन् ।
पितृसत्ताले गाँजेको हाम्रो जस्तो समाजमा समेत महिलाहरू पूर्ण स्वतन्त्रताका लागि संघर्षरत छन् भन्न मिल्ला र ?
विश्वभरका महिला आफ्नो अधिकारका लागि संघर्षरत छन् भन्न हिचकिचाउनु पर्दैन । यति भन्दाभन्दै, कुनै पनि आन्दोलनमा त्यहाँका नागरिकको शतप्रतिशत सहभागिता हुँदैन भने जस्तै यहाँको आन्दोलनमा पनि सबै सहभागी छैनन् भन्न मिल्छ । कतिपय महिलाले पितृसत्तबाटै फाइदा लिइरहेका हुन्छन् । कति सन्दर्भमा महिलाहरू स्वयं पितृसत्ताको एजेन्ट भएर हिँडिरहेका छन् । जब उनीहरूलाई यो पितृसत्ता सामान्य लाग्छ र त्यसबाट फाइदा पाइरहेका हुन्छन् भने उनीहरू यसलाई परिवर्तन गर्ने आन्दोलनमा सहभागी हुँदैनन् । शिक्षित महिलालाई समेत यस्तै विचारले गाँजेको छ । कसैले बुझेर त कसैले नबुझेरै पितृसत्तालाई जीवनको हिस्सा बनाउन पुगेका छन् । हामीले बुझ्नुपर्ने विषय के हो भने पितृसत्ता परिवारको खुशीका लागि जन्मेको होइन ।
महिला नै पितृसत्ताको एजेन्टका रूपमा काम गरिरहेका छन् भन्नुभयो । यसलाई उदाहरणसहित व्याख्या गरिदिनुस् न !
यस प्रश्नको जवाफ पितृसत्ता भनेकै के हो भन्नेमा निहित छ । पितृसत्ता शक्ति सम्बन्धसँग जोडिएको हुन्छ । शक्तिशालीले आफूभन्दा कम शक्तिशालीमाथि गर्ने थिचोमिचो नै पितृसत्ता हो । हाम्रो पारिवारिक सम्बन्धमा सासुले बुहारीलाई, अमाजुले भाइबुहारीलाई गर्ने हेलाहोचो, कार्यालयभित्र हाकीमले कर्मचारीलाई, पुरुष कर्मचारीले महिला कर्मचारीलाई शक्तिका आधारमा गर्ने उचनिचपूर्ण व्यवहार पनि पितृसत्ताकै स्वरूपहरू हुन् । यसको फाइदा कतिपय महिलाले पनि लिइरहेका हुन्छन् । विभेद गर्ने तप्का र विभेद झेल्ने तप्कामा जो पनि विराजमान हुन सक्छ र उसले पितृसत्तावादी सोचलाई सामान्य ढंगले नै अभ्यासमा ल्याइरहेको हुन सक्छ ।
आजका दिनमा नेपाली महिला आन्दोलनका मुख्य सैद्धान्तिक सवाल के–के हुन् ?
अहिलेको मुख्य सवाल नै समानता हो । समानताका बाधकहरू के–के हुन् भनेर हामीले नियाल्नुपर्ने हुन्छ । महिलाले घरभित्र बेतलबी रूपमा गर्ने कामलाई यदि चिन्हित गर्ने हो भने केही महिला घरबाहिर निस्केर पनि काम गरिरहेका छन् । देशको राष्ट्रपति, सभामुख पनि महिला भए । कतिपय ठाउँहरूमा महिला हाकिम भएर पनि काम गरिरहेकै छन् तर विभेदको अन्त्य अझै भएको छैन ।
महिलाले आफ्नो सक्दो सामर्थ्य लगाएर अघि बढ्न चाहँदा पनि उसलाई रोक्ने अवयवहरू समाजमा विद्यमान रहँदासम्म महिला अधिकार सम्पन्न हुन सम्भव देखिएन । त्यसैले आजका दिनमा महिलालाई समाजमा अघि बढ्न नदिने सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अवरोधक के–के हुन् भनेर खुट्याउनु र त्यसको अन्त्य गर्नु नै महिला आन्दोलनका सैद्धान्तिक सवाल हुन् ।
पितृसत्ताको विरोधमा आवाज उठाउँदाउठाउँदै हामीले वर्णव्यवस्थाले निम्त्याएको विभेदबारे बोल्नैपर्छ । सहअस्तित्वको जगमा उभिएको समाज निर्माणका लागि प्रभुत्ववादी, नियन्त्रणमुखी र प्राधिकार स्थापित गर्न खोज्ने सबै प्रकारका वैचारिक सत्ता ढल्नु जरुरी छ । पितृसत्ता तिनै मध्येको एक हो ।
विभेदको भागी महिला स्वयं छ भने उसले शक्ति सम्बन्धका जराहरू खुट्याउनुपर्ने हुन्छ । त्यसका लागि सबभन्दा पहिले महिला नै सचेत हुनु जरुरी छ । राज्यकै स्तरबाट महिलालाई अघि बढ्ने अवसरहरू उपलब्ध गराइनुपर्छ । ऐतिहासिक रूपमा भएको विभेद र हिंसाको क्षतिपूर्तिस्वरूप उनीहरूलाई अघि बढाउन के–के गर्न सकिन्छ भनेर राज्यले गम्भीरतापूर्वक सोच्नु र पहल लिनु जरुरी छ कि छैन भन्ने नै आजको मूल सवाल हो ।
आजसम्म अभ्यास गरिएको सबभन्दा उच्चतम व्यवस्थाका रूपमा रहेको लोकतान्त्रिक व्यवस्थाभित्रै महिलाको स्वतन्त्रता र मुक्ति सम्भव छ कि छैन ?
यो व्यवस्था अहिलेसम्मकै सबभन्दा उच्चतम प्रयोग हुँदाहुँदै पनि यसको कार्यशैलीमा निकै ठूलो परिवर्तन गर्नै पर्नेछ । समानतालाई व्यवहारमै महसुस गराउनका लागि धेरै नीति बनेका छन् । तर, त्यसलाई कार्यान्वयन गराउने मानसिकता कस्तो छ भन्ने प्रश्न हाम्रा अघिल्तिर आइपुग्छ । हाम्रो सामाजिक मानसिकतामा परिवर्तन नआईकन महिलाले आफ्नो स्वतन्त्रताको अभ्यास गर्न कठिन देखिन्छ । महिलाले महिलाकै हितमा सोच्छन् र पुरुषले उनीहरूको विरुद्धमा सोच्छन् भन्ने हुँदैन । समग्रमा कुनै पनि मानिसमा महिलाप्रतिको दृष्टिकोण कस्तो छ भन्नेले अर्थ राख्छ ।
उच्च जातकी महिलाले पितृसत्तासँग लड्नु परिरहेको हुन्छ । तर, मधेसी दलित महिलाले त एकै पटक तीनवटा विभेदजनित अवधारणासँग लड्न परिरहेको हुन्छ, यसको समाधान कसरी पहिल्याउने ?
ठीक भन्नुभयो । हामीले कुनै एउटा विभेद हटाउँदैमा समाज समतामुलक र विभेदरहित भइहाल्दैन । त्यसैले हाम्रो प्रयत्न सबै खाले विभेद र असमानता हटाउनुमै केन्द्रित हुनुपर्छ । कहाँसम्म भने प्रकृतिमाथिकै विभेद हटाउनका लागि पनि हामीले प्रयत्न गर्नु जरुरी छ । जबसम्म प्राकृतिक दोहन र त्यसको असमान वितरणले निम्त्याएको भोकमरी, गरिबीबारे हामी बोल्दैनौँ, महिलामाथि हुने विभेदले निरन्तरता पाइरहन्छ । घरको पल्लो कोठामा आगो लागिरहँदा वल्लो कोठामा कोही आरामले निदाउन सक्दैन । प्रकृतिमाथि भइरहेको यो स्तरको अन्यायबीच हामीले आफ्नो मुद्दा उठाउँदै त्यसको पक्षमा बोल्नुपर्ने भएको छ ।
पितृसत्ताको विरोधमा आवाज उठाउँदाउठाउँदै हामीले वर्णव्यवस्थाले निम्त्याएको विभेदबारे बोल्नैपर्छ । सहअस्तित्वको जगमा उभिएको समाज निर्माणका लागि प्रभुत्ववादी, नियन्त्रणमुखी र प्राधिकार स्थापित गर्न खोज्ने सबै प्रकारका वैचारिक सत्ता ढल्नु जरुरी छ । पितृसत्ता तिनै मध्येको एक हो । त्यसैले हाम्रो नारीवाद अन्य मुलुकको नारीवादभन्दा भिन्न ढंगले अघि बढ्न जरुरी छ । हामीकहाँ विविधता छ । ती विविधतासँग जेलिएका रुढिवादी विचार पितृसत्तासँग समागम गर्न पुग्छन् र अनेकौँ विभेदहरूलाई जन्म दिन्छन् । त्यसैले यहाँको नारीवादी आन्दोलन यहीँको विशिष्टतामा अघि बढ्नुपर्छ ।
आर्थिक आत्मनिर्भरताले मात्र महिला स्वतन्त्र हुन सक्छन् भनिन्छ । महिला विशुद्ध आर्थिक प्राणी मात्र हो र ?
हामी मानव पूर्ण स्वतन्त्र त कहिल्यै हुन सक्दैनौँ । मेरो पूर्ण स्वतन्त्रताले अरुलाई पनि बाधा पुर्याउन सक्छ । विद्यमान संरचनाहरूले महिला र पुरुषलाई कति स्वतन्त्रता दिएका छन् भन्ने विषय महत्त्वको हो । महिलाकै हकमा कुरा गर्दा उनीहरूलाई ऐतिहासिक रूपमै पछि पारिएको हो भन्ने विषयलाई हामीले आत्मसात गर्नुपर्छ । त्यसपछि बल्ल उनीहरूलाई समान हैसियतमा ल्याउन के गर्ने भन्ने प्रश्नआउँछ ।
आर्थिक रूपमा आत्मनिर्भर हुँदैमा कोही पनि पूर्ण स्वतन्त्र हुँदैन । त्यसबाहेक पनि कैयौँ खालका स्वतन्त्रता हुन्छन्, जसले तपाईंमा आत्मसम्मानको दियो जलाउने गर्छ । उदाहरणका लागि तपाईं आर्थिक रूपमा निकै सम्पन्न हुनुभयो । तर, तपाईंसँग कोही पनि खाना खान चाहन्न र सम्बन्ध राख्न चाहन्नन् भने पनि तपाईं सन्तुष्ट हुन सक्नु हुन्छ । त्यसैले महिलाले खोजेको आर्थिक सम्पन्नता मात्र होइन कि आत्मसम्मान पनि हो । आर्थिक आत्मनिर्भरताले तपाईंमाथि हुने विभेदको स्तरलाई न्यूनीकरण गरिदिन्छ ।
भुमण्डलीकृत पुँजीवादले पितृसत्तालाई थप बलियो कसरी बनाएको छ ?
हामी बस्दै गरेको पृथ्वीमा पितृसत्ता सबै थोकमा मिसिएर आउने गरेको छ । पितृसत्ता केमा छैन भन्नुस् त ? जात–व्यवस्थामा पितृसत्ता छ । विभिन्न जनजातीय समूहमा पितृसत्ता छ । धर्मसँग पितृसत्ता जोडिएर आएको छ । अरु त अरु आजका दिनमा पितृसत्ता सबभन्दा धेरै पुँजीवादसँग मिसिएर आएको छ । पुँजीवादले महिलालाई वस्तुमा परिणत गरिदिएको छ र व्यापारको ढोका सबैका लागि खुला गरिदिएको छ ।
पुँजीवादले महिलाको थप शोषण कसरी गरिरहेको छ भनेर केलाउनु जरुरी भएको छ । घरबाट बाहिर निस्किएर कमाउन जान पाउने पनि पुँजीवादकै कारण सम्भव भयो र महिलालाई सोकेसमा सजाएर बिक्री गर्न पनि पुँजीवादकै कारण सम्भव भयो ।
घरभित्रको पितृसत्ता केही कमजोर भएको छ तर बजार व्यवस्थाले महिलालाई जस्तो काम पनि लगाइरहेको छ । पुँजीवादमा महिला बेचबिखन, यौनकर्म (prostitution), यौनजन्य सिनेमा उद्योगका रूपमा फस्टाइरहेका छन् । यी सब पुँजीवादकै देन हो । त्यसैले पुँजीवादले महिलाको थप शोषण कसरी गरिरहेको छ भनेर केलाउनु जरुरी भएको छ । घरबाट बाहिर निस्किएर कमाउन जान पाउने पनि पुँजीवादकै कारण सम्भव भयो र महिलालाई सोकेसमा सजाएर बिक्री गर्न पनि पुँजीवादकै कारण सम्भव भयो । समग्रमा भन्दा महिला आन्दोलनलाई पुँजीवादले गहिरो गरी प्रभावित पारेको छ ।
वैदेशिक सहायताले महिला आन्दोलन कमजोर बनाइदिएको छ । तर, केही महिला अधिकारकर्मीलाई सबल बनाएको भन्ने आलोचना छ नि ?
यो आरोप महिलालाई मात्र किन लगाइन्छ ? एनजीओ/आईएनजीओमा त पुरुष पनि काम गर्छन् । सत्ताको केन्द्रमा बसेर आफ्नो फाइदाका लागि मात्र काम गर्ने पुरुषहरूको आलोचना किन हुँदैनन् ? महिलाले त गाउँ–गाउँमा पुगेर भुँइतहका मानिससँग जोडिएर काम गरिरहेका छन् । उनीहरूले गरेको काम र योगदानको कुनै मूल्याङ्कन नगरीकन एकोहोरो उनीहरूको आलोचना मात्र हुनु राम्रो होइन । रह्यो कुरा वैदेशिक सहयोगको, त्यसलाई नियन्त्रण गर्ने काम सरकारको हो ।